टी-२० आई सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

वि.सं.२०८० मंसिर ३ आइतवार ११:०८

काठमाडौं: नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको छ । आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेल जितेसँगै नेपालले सिरिजको यात्रा समाप्त भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रनको योगफल तयार पारेको थियो । ११६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो ।
जापानकी ओपनर अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन् । हिनासी गोटोले १६ रन थपिन् । नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए ।
नेपालका लागि ओपनर पूजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् । रोमा थापा २२ रनमा रन आउट भइन् । रुविना क्षत्री २१ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा १२ रन बनाउँदा क्याच आउट भइन् । ओपनर सीता रानामगर ५ रनमा एलबीडब्लू धरापमा परिन् । जापानकी एरिका क्विन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक/एक विकेट लिए ।
नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा घरेलु टोली हङकङसँग ९ विकेटले पराजित हुँदै उपाधि भिडन्तबाट बाहिरिएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो ।

वि.सं.२०८० मंसिर ३ आइतवार ११:०८