नेपालले आज घरेलु टोली जिम्बावेसँग भिड्दै
वि.सं.२०८० असार ३ आइतवार ०८:०२
2.3K
shares
काठमाडौं: आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु टोलीविरुद्ध नेपालको खेल जिम्बाबेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक टेस्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्ने भएको हो ।
नेपालको कप्तानी रोहित पौडेल र जिम्बाबेको कमानी क्रेग इर्विनले गर्नेछन् । पछिल्लो समय उच्च लयमा रहेको नेपाल यसलाई कायम राख्ने योजनामा हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को विश्व वरीयतामा नेपाल १५औँ र जिम्बाबे ११औँ स्थानमा छन् ।
विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह ‘ए’ मा छ । समूह ‘बी’ मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन् । विश्वकप छनोटका लागि नेपालले स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा र जिम्बाबेमा दुई अभ्यास खेल खेलेको थियो ।
सबै खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा सुरु हुने छन् भने खेलको लाइभ स्टार स्पोर्ट्सबाट हेर्न सकिनेछ ।
नेपालको खेल तालिका, समय र मिति
असार ३ ( जुन १८): जिम्बावेविरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब
असार ५ (जुन २०): नेपालविरुद्ध अमेरिका, ताकाशिंगा स्पोर्ट्स क्लब
असार ७ (जुन २२): नेपालविरुद्ध वेस्टइन्डिजः हरारे स्पोर्ट्स क्लब
असार ९ (जुन २४): नेपालविरुद्ध नेदरल्यान्ड्स, ताकाशिंगा स्पोर्ट्स क्लब
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
वि.सं.२०८० असार ३ आइतवार ०८:०२




















