नेपाली महिला फुटबल टोलीले बलियो प्रतिद्वन्दी भियतनामसँग भिड्दै
वि.सं.२०७९ चैत २२ बुधवार ०९:५०
2K
shares
काठमाडौं: पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ । जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले भियतनामविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।
भियतनामले अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरीयतामा भियतनाम ३३औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा रहेको छ ।
पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो ।
नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । भियतनाम पनि नेपाललाई हराएर दोस्रो चरण नजिक पुग्न चाहन्छ ।
तर, भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपालको टोली राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् भने कप्तान हुय्न्हु न्हुले नेपालविरुद्ध जितकै लागि खेल्ने बताए छिन् ।
वि.सं.२०७९ चैत २२ बुधवार ०९:५०



















