मछिन्द्र बन्यो दुई खेल अगावै ‘ए’ डिभिजन लिग च्याम्पियन
वि.सं.२०७८ फागुन ४ बुधवार १५:२०
काठमाडौं: मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सातदोबाटोलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगावै उपाधि जितेको हो ।
मछिन्द्रलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।
सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाएपनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गरेका हुन् ।
मछिन्द्र लगातार दोस्रो पटक शीर्ष डिभिजन लिग च्याम्पियन बनेको हो । मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मीलाई हराउँदै च्याम्पियन बनेको थियो ।
जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ ।
मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ ।
मनाङको २० अंक छ ।
सातदोबाटोले ११ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ ।
वि.सं.२०७८ फागुन ४ बुधवार १५:२०