च्याम्पियन्स लिग र युरोपा लिगको मिति सारेपछि थप अन्यौल
वि.सं.२०७६ चैत ११ मंगलवार १३:२२
1.5K
shares
एजेन्सीः कोरोना भाइरसको संक्रमणसँगै स्थगित भएका च्याम्पियन्स लिग फुटबल र युरोपा लिगको यो सिजन अनिश्चित बनेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले सोमबार प्रतियोगिताको मिति सारेपछि यसबारे थप अन्यौल थपिएको छ ।
च्याम्पियन्स लिग फाईनल अनिश्चितकालका लागि स्थगित भएको छ । यससँगै युरोपा लिगको पनि टुंगो छैन । युरोपका अन्य धेरै प्रतियोगिता यो सिजन समापन गर्न कठिनाई हुने निश्चित भएको छ । युरोपमा कोरोना भाइरसको संक्रमण माहामारीको रुपमा फैलँदो छ । यसको थप जोखिम हुन नदिन कुनैपनि प्रतियोगिता सुरु गर्न सक्ने अबस्था छैन । डवल लिगको आधारमा हुने च्याम्पियन्स लिग युईएफएले एकै चरणमा मात्र गर्ने योजना बनाएको छ । युइएफएले कोरोनाको संक्रमणबाट युरोप मुक्त भएपछि सबै देशका शिर्ष डिभिजन लिग सम्पन्न गर्न समय दिने जनाएको छ ।
युईएफएले तत्कालका लागि च्याम्पियन्स लिग र युरोपा अनिश्चितकालका लागि रोकेको छ । वुमन च्याम्पियन्स लिगको फाईनल समेत रोकिएको छ । युईएफएले कुनैपनि प्रतियोगिताको बैकल्पिक मिति समेत दिन सकिरहेको अवस्था छैन । दुवै प्रतियोगिता मेमा सञ्चालन गर्ने तयारी भएको थियो । तर अन्तिम १६ को दोस्रो लेग चलिरहँदा कोरोनाका कारण प्रतियोगिता स्थगित भएको छ ।
पेरिस सेन्ट जर्मेन (पिएसजी), एथलेटिको मड्रिड, एटलान्टा र लेप्जिगले अन्तिम आठको यात्रा समेत तय गरिसकेका छन् । बार्यन म्युनिख, चेल्सी, म्यान्चेष्टर सिटी, रियल मड्रिड, युभेन्ट्स, लियोन, बार्सिलोना, नापोलीबीचको दुई दुई चरणका खेल भएपछि क्वाटरफाइनल समिकरण पुरा हुनेछ । तर दोस्रो चरणमा खेलाईने अन्तिम १६ का खेल पनि प्रभावित बनेको छ ।
वि.सं.२०७६ चैत ११ मंगलवार १३:२२



















