चिकित्सा शिक्षा आयोगले लगायो आफ्नै अस्पतालमा १०० शय्या नहुने शिक्षण संस्थालाई नर्सिङ विषयको भर्नामा रोक
वि.सं.२०८० भदौ ८ शुक्रवार ०७:३५
2.2K
shares
काठमाडौं: चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रावधान भन्दै १०० शय्याको आफ्नै अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ विषयको भर्नामा रोक लगाएको छ ।
यससँगै नेपालमा ७३ वटा नर्सिङ शिक्षण संस्था बन्द भइसकेका छन् । राज्यले गलत नीति अख्तियार गर्दा विद्यार्थी स्वदेशी शिक्षण संस्थामा भर्ना भएर अध्ययन गर्न वञ्चित भएका छन् । यो अवसरको फाइदा उठाउँदै नेपाली विद्यार्थीलाई लक्ष्य गरी भारतका सीमावर्ती क्षेत्रमा धमाधम नयाँ नर्सिङ कलेज खुल्ने क्रम जारी छ ।
ऐनले स्नातक तहलाई मात्र सम्बोधन गर्ने भएपनि आयोगले नर्सिङ विषयमा मात्र स्नातकभन्दा तल्लो तहमा पनि प्रावधान कार्यान्वयन गरेर गलत नीति अख्तियार गर्दा नर्सिङ विषय अध्यापन गर्ने शिक्षण संस्था बन्द भएको सम्बद्ध संस्थाका पदाधिकारीको भनाइ छ ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका महासचिव तथा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले सीमा क्षेत्रमा भारतीय लगानीमा नर्सिङ क्याम्पस खुल्नुमा आयोगले लागु गरेको व्यवस्था मुख्य बाधक रहेको बताए । ‘ऐनले स्नातक तहका शैक्षिक कार्यक्रमलाई मात्रै सम्बोधन गर्छ । प्रमाणपत्र तहका नर्सिङ कार्यक्रमका लागि ऐनले बन्देज लगाएको छैन तर नर्सिङ शिक्षण संस्थालाई बन्द गराउन खोजिएको छ । यसबाट विद्यार्थी पीडित भए’, उनले भने ।
यो विषयलाई लिएर यति बेला आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बीच विवाद पनि सिर्जना भएको छ । दुई निकायबिचको द्वन्द्वले विद्यार्थी चेपुवामा परेका छन् । स्वदेशी नर्सिङ शिक्षण संस्था बन्द भएपछि नेपालको सीमावर्ती भारतीय क्षेत्रमा खुलेका त्यस्ता शिक्षण संस्था हराभरा भएका छन् । भारतीय शिक्षण संस्थाले नेपालमा मान्यताप्राप्त सिटिइभिटीको पाठ्यक्रम अनुसार रहेको लगायत उल्लेख गरेर झुटो विज्ञापन गर्ने गरेका छन् । त्यस्ता विज्ञापन प्रकाशन हुँदा पनि सम्बन्धित निकाय मौन छन् ।
कानुनी ज्ञान नहुँदा नेपाली विद्यार्थी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ नलिई भारतीय लगानीमा खुलेका शैक्षिक संस्थामा भर्ना भएका छन् । हाल नर्सिङ विषय पढ्न गएका विद्यार्थीले पनि ‘नो अब्जेक्सन लेटर’ नलिई भर्ना भएका कारण भविष्यमा समस्या आउनसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
ऐनमा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयको दुई वर्षभित्र १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरिएको छ । उक्त ऐन आउनुअघि नर्सिङ कलेजलाई १०० शय्याको आफ्नै अस्पताल नभए पनि अन्य अस्पतालसँग सम्झौता गरेर पठनपाठन सञ्चालन गर्न सकिने व्यवस्था थियो ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचारबाट…
वि.सं.२०८० भदौ ८ शुक्रवार ०७:३५




















