कामबाट प्रमाणित गर्न फेरि यो संसदको विश्वास चाहिएको छ: प्रचण्ड
वि.सं.२०८० फागुन ३० बुधवार १२:५८
1.5K
shares
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण निर्माण र नयाँ सरकार गठनको औचित्य काम गरेरै पुष्टि गर्ने स्पष्ट पारेका छन् । बुधबार संसद्मा विश्वासको मत माग्दै उनले भाषणबाट होइन, अब काम गरेरै नयाँ गठबन्धन निर्माणको प्रमाणित गर्ने बताएका हुन् ।
‘सरकार पुनर्गठन र नयाँ समीकरणबारे मैले यसअघि नै संक्षिप्तमा सदनलाई जानकारी गराइसकेको छु’, उनले भने, ‘अब यसको औचित्य भाषणबाट होइन, कामबाट प्रमाणित गर्न फेरि यो संसदको विश्वास चाहिएको छ ।’ उनले भने- ‘मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ ।’
उनले आज बेलुकासम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए । ‘सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन् ।’
प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई जनअनुमोदन र समर्थनका रुपमा बुझेको बताए । ‘सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् ।’ उनले भने, ‘पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लागि सुलभ ऋणको ग्यारेन्टी गरिनेछ ।’
हेर्नुहोस् पूर्णपाठ:
वि.सं.२०८० फागुन ३० बुधवार १२:५८



















