गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव
वि.सं.२०८० जेठ ६ शनिवार ११:४४
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठले संसदमा दर्ता गरेको भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइएको छ ।
सभापति रवि लामिछानेसहितका सांसद शुक्रबार मन्त्रालय पुगेर नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका छन् । ‘हाम्रो पार्टीको एजेन्डा भनेकै भ्रष्टाचारी र बेथितिको अन्त्य हो,’ प्रस्ताव बुझाउँदै लामिछानेले भने, ‘भ्रष्टाचारको फाइल खोलिनु सुखद हो । अहिले भइरहेको छानबिन निष्पक्ष होस् । यस विषयमा हाम्रो पार्टीले संसद्मा संकल्प प्रस्तावसमेत दर्ता गरिसकेको छ । त्यसमा सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।’
जवाफमा गृहमन्त्री श्रेष्ठले छानबिन निष्पक्ष हुनेमा ढुक्क रहन आश्वासन दिए । ‘दबाब र प्रभावभन्दा बाहिर आएर मैले काम गर्ने वातावरण सिर्जना गरिसकेको छु,’ उनले भने, ‘भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्नेमा म आफैँ प्रस्ट छु । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष रूपमा छानबिन अघि बढाएका छौँ । यो निष्पक्ष नै हुन्छ । ढुक्क हुनुस् ।’
वि.सं.२०८० जेठ ६ शनिवार ११:४४