राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०४

काठमाडौं: नेपालका एक चर्चित टेलिभिजनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लिएको अन्तर्वार्ता प्रसारण नगरेपछि शितल निवासमा खैलाबैला मच्चिएको छ ।
अन्तर्वार्ता लिएको दुई हप्तासम्म प्रसारण नगरेपछि मुलुकको सर्बोच्च व्यक्तित्वको अन्तर्वार्ता रोकिएकोले राष्ट्रपति र उनको सचिवालयले यस विषयलाई लिएर सोधखोज गरेको छ ।
एपीवान टेलिभिजनका प्रधान सम्पादक तथा कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’का प्रस्तोता टीकाराम यात्रीसँगको अन्तर्वार्ताको प्रसारण दुई पटक रोकिएको हो ।
प्रस्तोता यात्रीले मंसिर २ गते दुई वटा प्रोमो फेसबुकमा सार्वजनिक गर्दै त्यही दिन राती ९ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी गराएका थिए ।
प्रोमो सार्वजनिक भएलगत्तै मौन अवधिमा राष्ट्रपतिको अन्तर्वार्ता प्रसारण वाञ्छनीय नहुने सुझाव प्राप्त भएपछि शुक्रबारका लागि तय भएको प्रसारण स्थगित गरिएको विषय प्रस्तोता यात्रीले फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
‘हामीले प्रोमो सार्वजनिक गरे लगत्तै निर्वाचन आयोग तथा विभिन्न दलका शीर्ष नेतृत्व तहबाट यसबारे चासो व्यक्त भएको र निर्वाचन अवधिको स्थिर समयमा राष्ट्रपति ज्यूको अन्तर्वार्ता प्रशारण वाञ्छनीय नहुने सुझाव हामीलाई प्राप्त भएका कारण उक्त अन्तर्वार्ता निर्वाचनको मतदानपछि आइतबार राति मात्र प्रसारण गरिने जानकारी गराउदछौं,’ यात्रीले लेखेका थिए ।
यात्रीले भनेबमोजिम उक्त अन्तर्वार्ता मंसिर ४ गते राती प्रसारण हुनुपर्ने थियो । तर, हालसम्म पनि उक्त अन्तर्वार्ता प्रसारण भएको छैन । राष्ट्रपति कार्यालयले पनि अन्तर्वार्ता के कति कारणले रोकिएको हो भन्ने प्रष्ट जानकारी प्राप्त नभएको बताएको छ ।
‘अन्तर्वार्ताको प्रोमो पनि सार्वजनिक भयो तर प्रसारण रोकियो । हामीलाई निर्वाचन आयोगको ध्यानाकर्षणका कारण भनिएको थियो । हामीले आयोगमा बुझ्दा त्यस्तो पाएनौं । के कति कारणले रोकिएको प्रष्ट जानकारी प्राप्त भएको छैन’ राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालको भनाई छ ।

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०४