शेरबहादुर देउवाको त के कुरा, माघ १९ सबैलाई सम्झना होला: ओली
वि.सं.२०७९ कात्तिक २७ आइतवार १४:५३
3.3K
shares
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जनयुद्धका नाममा कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भएको टिप्पणी गरेका छन् ।
चुनावी सभालाई सम्बोधनका लागि कालीकोट पुगेका अध्यक्ष ओलीले अध्यक्ष दाहालमाथि यस्तो टिप्पणी गरेका हुन् । उनले जहिले पनि मान्छे उचालेर सहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको आरोप लगाए ।
कांग्रेससँग लागेर जनता रुवाएर आफ्ना मान्छेलाई पोस्ने काम प्रचण्डले गरेको ओलीको भनाइ छ । प्रचण्ड कालीकोट पुगेका बेला केपी ओलीले प्रतिगमन गरेको भन्दै झुट बोलेको समेत ओलीले बताए ।
प्रचण्डसँगै ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना गरेका छन् । उनले भने, ‘शेरबहादुर देउवाको त के कुरा । माघ १९ सबैलाई सम्झना होला । अहिले पनि उहाँले लोकतन्त्र कता लगेर बुझाउनुहुन्छ ।’
माओवादी पार्टी सिद्दिन लागेका बेला एमालेले औंलो दिएर प्रत्यक्षमा ३६ सिट जितेको ओलीले जिकिर गरे । सिद्दिन लागेका प्रचण्डलाई पार्टीभित्र आफू नै अल्पमतमा पर्नेगरी विश्वास आफूले गरेको तर बहुमत पाएपछि आफूमाथि नै खनिन थालेको बताए ।
माओवादीले दक्षिण शक्तिसँग मिलेर सरकार बनाउन कोशिस गरेको ओलीले आरोप लगाए । संविधान, संघीयता र लोकतन्त्र जोगाउने किन नजोगाउने भन्ने प्रश्न अहिले खडा भएको ओलीको भनाइ छ ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार १४:५३




















