सन्दीपविरुद्धको मुद्दामा आज जवाफी बहस हुँदै
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०९:०३
3.5K
shares
काठमाडौं: नावालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जवाफी बहस हुनेछ ।
सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपछि आज जवाफी बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौंमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लभ मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका थिए ।
उनका तर्फबाट अधिवक्ता सविना भण्डारीले पनि बहस गरिन् । सन्दीपकै तर्फबाट बुधबार अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौड्यालले बहस गरेका थिए ।
बिहीबार समयाभावका कारण सरकारी वकिलको तर्फबाट जवाफी बहस भएन । त्यसैले सन्दीपविरुद्धको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता महेश खत्रीले जवाफी बहस गर्नेछन् ।
जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०९:०३



















