YouTube Link

बडादशैं शुरु : आज घटस्थापना, साइत बिहान १०ः२३ बजे

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैं पर्व आज (सोमबार) देखि शुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आज घर घरमा घटस्थापना गरेसँगै शुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

बडादशैंको पहिलो दिन आज घरका पूजा कोठा र दशैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसँगै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रूपमा सेवन गर्ने गरिएको छ ।

घटस्थापनाको साइत बिहान १०ः२३ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निणर्य गरेको उनले बताए ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

विजयादशमीको साइत असोज १९ गते ११ः५१ बजे

नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ । तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए ।

आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १९ गते देवी विसर्जनको साइत बिहान १०ः३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ः५१ बजेको साइत उत्तम छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइ दिने धार्मिक विश्वास छ ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूणर्िमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

हनुमानढोकाको दशैं घरमा विशेष पूजा गरिँदै

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ ।

सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए । दशैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । हनुमानढोकाको दशैं घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

बढ्न थाले थात थलो फर्कने यात्री

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।

काठमाडौँ उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन् । नयाँबसपार्क, कलङ्कीलगायत स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भिड देखिन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैंका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन् । शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ-आफ्ना घर जान्छन् । देश विदेशबाट गाउँ फर्कनेहरु बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडादशैंको चहलपहल शुरु हुन्छ । रासस

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...