आफूहरु नै नेकपाको आधिकारिक पार्टी भएको दाबी सहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा
वि.सं.२०७७ माघ २० मंगलवार १५:३९
1.7K
shares
काठमाडौं: नेकपाका अध्यक्ष प्रचण्ड-नेपाल समुहका नेतृत्वले राजनीतिक दल सम्बन्धी नयाँ दफा अनुसार आफूहरु नै नेकपाको आधिकारिक पार्टी भएको निर्वाचन आयोगमा दाबी गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर नेकपाको नाम, झण्डा र चुनाव चिन्हमाथि आधिकारिकताको दावी गरेका छन् ।
सो समूहले दल विभाजन भएको र सोको निरुपणका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दावी गरेको बताएका छन् ।
सो समूहले सोमबार आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित रहेका २ सय ७५ जना नेताहरुको उपस्थितिका विवरण पनि निर्वाचन आयोगमा बुझाएको छ ।
अध्यक्षद्वयसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गर्दै नेकपाभित्रको विवाद निरुपण गरेर मात्रै निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ ।
सो छलफलमा नेकपाका अध्यक्षद्वय र वरिष्ठ नेता खनालसहित अन्य नेताहरु भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन, पम्फा भुसाल, बेदुराम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।
निर्वाचन आयोगमा मुख्य गरेर तीन वटा विषय उठाएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले बताए । पाण्डेले निर्वाचन आयोगले नेकपाको पुस ७ र ९ को निर्णयलाई मान्यता नदिएको, अध्यक्ष ओली र महासचिवलाई गरिएको कारबाहीलाई मान्यता नदिएको र दुई एकता गर्दाका बेला ओलीलाई पहिलो र प्रचण्डलाई दोस्रो अध्यक्ष नभनिएको कुरालाई मुख्य गरी उठाएको छ ।
वि.सं.२०७७ माघ २० मंगलवार १५:३९



















