३९ अर्ब कर बक्यौता सात दिनभित्र बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको आदेश
वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:१६
936
sharesकाठमाडौं: ठूला करदाता कार्यालयले एनसेललाई करको बक्यौता रकम सात दिनभित्र तिर्न आदेश दिएको छ । कार्यालयले आयकर ऐन बमोजिमको २५ प्रतिशतले हुन आउने ३५ अर्ब ९१ करोड रुपैयाँ तथा त्यसमा लागेका बिलम्ब शुल्क र ब्याज गरि कूल ६२ अर्ब ६३ करोड रुपैयाँ पुगेको हिसाव पनि निकालेको छ ।
सो परिमाणमा एनसेलले पहिले तिरेको कर रकम तथा बिलम्ब शुल्क बराबरको २३ अर्ब ५७ करोड रुपैयाँ घटाउँदा हुन आउने ३९ अर्ब ६ करोड रुपैयाँ सात दिनभित्र दाखिला गर्न कार्यालयले आज आदेश जारी गरेको हो । आदेशसम्बन्धी सूचना एनसेल कम्पनीले बुझिसकेको पनि कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
गत साता सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलसँग कर उठाउन सरकारका नाममा आदेश दिएको थियो । अदालतको आदेश नआउन्जेलसम्म विक्रेता टेलियासोनेरा कम्पनीका नाममा सो कर निर्धारण गरिएको र केही रकम एनसेलले बुझाएकाले लाभकर रकमका बारेमा लामो समय अन्योल रहेको थियो । तर अव अन्योल हटाउँदै करदाता कार्यालयले हिसाव निकालेर कर उठाउने प्रक्रिया अघी बढाएको छ ।
वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:१६