राष्ट्रिय गौरव आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ आज
वि.सं.२०७६ वैशाख ३ मंगलवार ०९:०७
945
sharesसुर्खेत: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरुङ निर्माण सकिएको औपचारिक घोषणा गर्नुहुनेछ । सुरुङ निर्माण सम्पन्न हुने सम्झौता मिति आउनुभन्दा एक वर्ष अगाडि नै सुरुङ निर्माण सम्पन्न भएको हो । सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालदेखि चिप्लेसम्म १२ दशमलव २ किलोमिटर सूरुङ निर्माण गरिएको हो ।
वि सं २०७४ कात्तिक २० गतेदेखि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी नेपाल सरकारसँग सम्झौता गरी सुरुङ निर्माण थालेको थियो । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) ले सूरुङ खनिएको हो । समय आगाडि नै काम सम्पन्न हुँदा त्यहाँ कार्यरत कर्मचारी, आयोजना पक्ष, ठेकेदार कम्पनी र नागरिक सबै उत्साहित भएका छन् ।
सुरुङमार्फत भेरीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई सिँचाई उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । साथै भेरीगंगाको हातिखाल बबईमा पावर हाउस निर्माण गरेर ४६ दशमलव ८ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार ०९:०७