राप्रपा नेपालले सूर्य चिह्नबाट चुनाव लड्ने
वि.सं.२०७८ चैत ३० बुधवार १४:४९
4.3K
shares
काठमाडौं: नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल सहमति भएको छ ।
बुधबार काठमाडौंमा दुई दलका नेताहरुबीच तालमेल सहमति भएको हो । यो सहमतिसँगै अब राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गर्ने भएको छ ।
दुई दलबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर जान ५ बुँदे सहमति भएको हो । सहमति अनुसार देशभरका तालमेल सम्भव भएका पालिकाहरुमा दुई दलले मिलेर उम्मेदवार उठाउने भएका छन् ।
सहमति अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ ।
नेकपा (एमाले) ले नउठाउने स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारलाई सघाउने सहमति पनि दुई पक्षबीच भएको छ ।
तालमेलका लागि अब एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने भएका छन् ।
दुवै दलका कमिटीहरुले सहकार्यका लागि प्रस्ताव तयार गरेर आ-आफ्नो पार्टी केन्द्रमा पठाउने सहमति पनि गरिएको छ ।
सहमति अनुसार अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उमेद्वारहरु सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
दुई दलबीचका हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने भएका छन् ।
यो सहमतिमा एमालेको स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका महामन्त्री सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित थिए ।

वि.सं.२०७८ चैत ३० बुधवार १४:४९




















