रामेछापको उमाकुण्ड गाउँपालिकामा ष्याँदर अर्थात् चण्डी पूजा भव्यताका साथ मनाईयो

वि.सं.२०७९ जेठ ९ सोमवार ११:४६

akhabarnepal.com
रामेछापः कोइँचहरुको ष्याँदर अर्थात् चण्डी पूजा विशेष पूजा हो । यो पूजाको पनि आफ्नै नीति र परम्परागत नियमहरु छन् । यो पूजा उधौली र उभौली गरी एक बर्षमा दुई पटक मनाइन्छ । उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन पारेर पूजा गरिन्छ । विशेष गरी यो पूजा पकृति पुजाका रुपमा मनाउने गरिन्छ ।
यसैबीच रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका प्रितीमा पनि सुनुवार अर्थात कोइँचहरुले भव्य रुपमा मनाएका छन् । उमाकुण्ड गाउँपालिकाको अन्य ठाँउमा चण्डीस्थान रहेपनि विशेष गरी वडा नम्बर ४ मा पालिकाकै र रामेछाप जिल्लाकै सबैभन्दा ठूलो चण्डीस्थान रहेकोले यहाँ विशेष पूजा गरेर मनाईन्छ ।
ष्याँदर पिदार अर्थात (चण्डी) वल्लो किराँतको बहुसङ्ख्यक किराती सुनुवार तथा आदिवासी भूमिपुत्रको सांस्कृतिक चिनारीको पर्याय हो । किराती कोइँचहरु प्रकृति, आत्मा र पुर्खापूजक हुन् । मानव तथा समाजशास्त्रीय अध्ययनले मानव सभ्यताको प्रारम्भबाटै प्रकृतिमा निहित तत्वलाई देवताको रुपमा पूज्ने तथ्य उजागर गरेझैं ष्याँदर पिदार त्यसैको प्रतिरुप हो ।
प्राचीनकालमा नेपालमा ७ सय वर्ष भन्दा बढी समय राज्य चलाएका किरातले मनाउँदै आएको साँस्कृतिक पर्व ष्याँदरलाई हिन्दूकरण गरी हिजोआज चण्डी भन्ने गरिएको छ । किरातीहरु लिम्बू, याक्खा, कोइच भनेर छुटिनु पहिले आफ्नो पुर्खा तथा इष्टदेवीको आराधना गर्दै ढोल बजाएर नाचगान गर्दथे ।
१८८२ मा चण्डी पर्वलाई व्यवस्थित गर्न सुनुवारले खर्क उपलब्ध गराउने तथा पूजा गर्ने बेला बली चढाइने राँगो गुठियारको जिम्मा खप्तडी बस्नेतलाई दिईन्छ भने बोका, भाले, धुपदीपका लागि आवश्यक सामग्री उपलब्ध गरी सामूहिक रुपमा चण्डी पर्व मनाउने परम्परा अहिले पनि कायम छ ।
ष्याँदरका बेलामा देखिएका केही तस्बीर सहित भिडियोः







वि.सं.२०७९ जेठ ९ सोमवार ११:४६