छिमेकी मुलुक भारतमा आक्रामक बन्दै कोरोनाको तेस्रो लहर
वि.सं.२०७८ पुस २९ बिहीवार १२:०८
2.5K
shares
काठमाडौं: छिमेकी मुलुक भारतमा तेस्रो लहरको कोरोना भाइरसको संक्रमित लगातार बढ्न थालेका छन् ।
दैनिक संक्रमितको संख्या झण्डै साढे २ लाख पुग्न लागेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४ सय १७ जना नयाँ संक्रमित थपिएका छन् ।
जुन संख्या मंगलबारको तुलनामा २७ प्रतिशतले बढी हो ।
योसँगै भारतमा कोरोनाको कहर गत मे महिनाको अवस्थामा पुगेको छ ।
भारतमा १० दिनको अवधिमा कोरोना संक्रमितको संख्या ६ गुणाले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८४ हजार ८ सय २५ जना निको भएको र ३ सय ८० जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ११ लाख १७ हजार ५ सय ३१ पुगेको छ भने दैनिक पोजिटिभिटी दर १३.११ प्रतिशत पुगेको छ ।
त्यस्तै, कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय ८८ पुगेको छ ।
ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् १ हजार ३ सय ६७ रहेका छन् । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनबाट हालसम्म ७ सय ९२ जना संक्रमित भएका छन् ।
यस बाहेक, दिल्लीमा ५ सय ४९, कर्नाटकमा ४ सय ७९, पश्चिम बंगालमा २ सय ९४ र उत्तर प्रदेशमा २ सय ७५ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १२:०८


















