‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला
वि.सं.२०८२ वैशाख १७ बुधवार १०:१८
1.5K
shares
अस्ट्रेलिया: हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहित महिलाहरुमा केन्द्रित ‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा भएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको आयोजकले जानकारी दिएको छ ।
विवाहित महिलाहरुको सहभागितालाई मध्यनजर राख्दै हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको आयोजकले जानाएको छ ।
विगत १० वर्षदेखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्षदेखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रममा नेपालबाट अस्ट्रेलिया आएर अस्ट्रेलियाभरि विभिन्न पेशा व्यवसायीको रुपमा काम गरिरहेका विवाहित महिलाहरु सहभागी हुन पाउने छन् । यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने छ ।
उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्बा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण, हिड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण गर्नेछन् । साथै नेपालमा विगत १६ बर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले व्यवस्थापन गर्ने छ । उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुको सहभागी रहने छ ।
प्रतियोगिताका विजेताहरुले ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’ को उपाधी सहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, साथै नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य २ जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिनेछ भने लेटमिइन कोरियन स्कीन हस्पिटल नेपालको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य उपहारहरु पनि प्रदान गरिनुका साथै अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।
वि.सं.२०८२ वैशाख १७ बुधवार १०:१८



















