कोरोनाका कारण ७०औं मिस वर्ल्डको फाइनल प्रभावित, सबै प्रतियोगी क्वारेन्टाइनमा

वि.सं.२०७८ पुस २ शुक्रवार १४:४२

एजेन्सी: कोरोना महामारीका कारण प्रतियोगी नै संक्रमित भएपछि ७०औं मिस वर्ल्डको फाइनल प्रभावित भएको छ ।
शुक्रबार बिहान हुने भनिएको फाइनल तीन महिनाको लागि सरेको छ ।
मिस इन्डोनेसिया र मिस मलेसियामा कोरोना संक्रमण देखिएपछि यतिवेला सबै प्रतियोगी तथा कर्मचारी क्वारेन्टाइनमा बसेको मिस वर्ल्डको फेसबुक पेजमार्फत जानकारी गराइएको छ ।
कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड प्रतियोगिता नै हुन सकेको थिएन । यो वर्ष पनि अन्तिम दिन कोरोनाकै कारण प्रतियोगिता स्थगित हुन पुगेको हो ।
पोर्टो रिकोको राजधानी सान ह्वानमा भइरहेको प्रतियोगितामा नेपालका तर्फबाट मिस नेपाल २०२० नम्रता श्रेष्ठले भाग लिएकी छिन् ।
उत्कृष्ट ३० छनोट भइसकेको प्रतियोगिताको विजेता शुक्रबार छनोट गर्ने कार्यक्रम रहेको थियो ।
९७ देशले सहभागिता जनाएको प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भएकी छिन् ।
हेड टु हेड राउन्डको विजेता हुँदै नेपाललाई प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भएकी हुन् ।
साथै उनी ब्युटी विद अ पर्पोसमा पनि उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।
बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो ।

वि.सं.२०७८ पुस २ शुक्रवार १४:४२