राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ
वि.सं.२०७७ भदौ ३ बुधवार १८:३०
1.6K
shares
काठमाडौं: राष्ट्रिय झण्डामा आगो लगाई जलाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा प्रसारण गरेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गायक तथा मोडल मकवानपुर बस्ने ज्ञाल्जेन दोर्जे तामाङ भन्ने २३ वर्षीय रोजित कुमार तितुङ, मोडल काभ्रे बस्ने २८ वर्षीय लावाङ तामाङ, काभ्रे बस्ने २७ वर्षीय प्रयास भन्ने चलाकमान तामाङ, भिडियो इडिटिङ गर्न काभ्रे बस्ने ३१ वर्षीय संजय भन्ने हुत्तबहादुर तामाङ, भिडियो इडिटिङ गर्ने काभ्रे बस्ने ३६ वर्षीय कमल कुमार लामा तामाङ, गायक तथा मोडल मकवानपुर बस्ने १८ वर्षीय किशोर, भिडियोग्राफर सिन्धुपाल्चोक बस्ने २८ वर्षीय संजित कुमार घिसिङ र गायिका काठमाडौं बस्ने दोलखा घर भएकी २२ वर्षीया अरुणा थामी रहेका छन् ।
सामाजिक सञ्जाल युट्युवमा Mangol Hop Official नामको च्यानलबाट भदौ १ गते देशद्रोही शीर्षकमा सार्वजनिक भएको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डामा आगो लगाई जलाएको छ ।पूर्व राजा तथा पूर्व प्रधानमन्त्री समेतको तस्बिर जलाएको, नेपालको राष्ट्रिय झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको, ढाका टोपीलाई अपमानजनक शब्द प्रयोग गरिएको छ ।
जातीय द्वन्द्व भड्काउने गरी आपत्तिजनक शब्दावलीहरुको प्रयोग गरी बर्गीय जातीय र साम्प्रदायिक आधारमा घृणा, द्वेष र अवहेलना उत्पन्न गराउने दृश्य सामाजिक संजालमा राखी प्रसारण गर्ने व्यक्तिहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज र महानगरीय अपराध महाशाखाको बिशेष सकृयतामा पक्राउ गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वि.सं.२०७७ भदौ ३ बुधवार १८:३०




















