एनभीए क्लब च्याम्पियनसिप आजबाट सुरु
वि.सं.२०७६ माघ ३ शुक्रवार १०:४५
1.2K
shares
काठमाडौं: पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष भलिबल क्लब च्याम्पियनसिप आजबाट सूरु हुँदैछ । नेपाल भलिबल संघले आयोजना गर्ने प्रतियोगिता अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र आरजी ग्रुपबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा पहिलो खेलमा समूह ‘ए’को आर्मीले आरजीलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । नेपाल भलिबल संघले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फको दोस्रो खेलमा समूह ‘बी’ मा रहेको एपीएफले बुलबुले रारा क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । चार समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा साविक विजेता आर्मीसँगै आरजी ग्रुप र नयाँबजार सामाजिक युवा क्लब रहेका छन् ।
समूह ‘बी’ मा एपीएफसहित बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन् । त्यस्तै ‘सी’ समूहमा नेपाल पुलिस क्सँलब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब रहेका छन् । समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब रहेका छन् ।
महिलातर्फ पहिलो दिन एक खेल हुनेछ । जसमा न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । सहभागी ७ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र भरतपुर महानगर रहेका छन् । यस्तै समूह ‘बी’ मा न्यू डायमण्ड क्लब, नेपाल पुलिस र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर, बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।
वि.सं.२०७६ माघ ३ शुक्रवार १०:४५



















