आज २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विशेष कार्यक्रमको आयोजना गरि मनाईदै
वि.सं.२०७६ माघ २ बिहीवार ०९:०७
1.3K
shares
काठमाडौं: आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो ।
दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ ।
दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।
वि.सं.२०७६ माघ २ बिहीवार ०९:०७



















