असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापति भेला आज, एकलौटी रुपमा गरेको निर्णय सच्याउन सभापति देउवालाई दबाब दिने
वि.सं.२०७६ पुस २१ सोमवार ०९:५४
1.1K
shares
काठमाडौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले आज भेला गर्दैछन् । वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह निकट जिल्ला सभापतिहरु आज पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा हुन लागेका हुन् ।
भेलामा सहभागी हुन अधिकांश जिल्ला सभापतिहरु काठमाडौं आइपुगेका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बनेका नेताहरुले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् । भेलामा केन्द्रीय समिति बैठकका निर्णयहरुमाथि परामर्श गरिने र जिल्ला सभापतिहरुसँग परामर्श गरेर पार्टी सभापति देउवालाई निर्णय सच्याउन दबाब दिने वरिष्ठ नेता पौडेल निकटले जनाएको छ ।
पटक-पटक केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्दै आएको संस्थापन इतर पक्षले सभापति देउवाको दबाबमा गरिएका सबै निर्णय फिर्ता हुनुपर्ने प्रमुख सर्त राखेको छ । विधान विपरित थप गरिएका विभागहरुको खारेजी, महाधिवेशन कार्यतालिका संशोधन लगायतका प्रमुख मुद्दामा सभापतिहरुको भेलामा परामर्श गर्न सबै जिल्लाका सभापतिहरुलाई भेलामा बोलाइएको बताईएको छ । सभापतिहरुले दिने सुझावका आधारमा आगामी कदम चाल्ने तयारी संस्थापन इतर पक्षको छ ।
गत पुस ११ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । यस्तै, पार्टीका विभाग संख्या ४१ बाट बढाएर ४७ पुर्याउने लगायतका निर्णय गरेको छ । इतर पक्षले यी निर्णय विधान विपरीत भएको बताउँदै आएको छ ।
वि.सं.२०७६ पुस २१ सोमवार ०९:५४



















