सशस्त्र प्रहरी महानिरीक्षकको स्पष्ट निर्देशन- उच्च नैतिक आचरण र व्यवसायिक अनुशासन प्रदर्शन गर्नु
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ११:३८
516
shares
काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले इकाई निरीक्षण टोलीले इकाइभित्रका गतिविधिमा मात्र सीमित नरही अन्य सुरक्षा निकाय, स्थानीय सरकारलगायत अन्य सरोकारवाला निकायसँगको समन्वय र सशस्त्र प्रहरीप्रतिको जनविश्वासको वास्तविक मापनसमेत गर्नुपर्ने बताउँदै निरीक्षणमा खटिने कमाण्डर तथा टोली सदस्यहरू स्वयंले उच्च नैतिक आचरण र व्यवसायिक अनुशासन प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिबृद्धिका लागि वार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराखी व्यवसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका हुन् । सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाइहरुको छनौट तथा योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरुलाई संचालन गरिएको अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले सो निर्देशन दिएका हुन् ।
उनले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट खटिने निरीक्षण टोलीहरूले कुनै पनि पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई तोकिएको कार्यविधि र निष्पक्ष मापदण्डभित्र रहेर इकाइहरुको निरीक्षण गर्नुपर्ने बताउँदै इकाइभित्र कमाण्डर र फौजबीचको सामञ्जस्य, गुनासो व्यवस्थापन र आन्तरिक अनुशासनको अवस्थालाई सुक्ष्म रूपमा केलाउनसमेत निरीक्षण टोलीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालले विगतका वर्षहरूमा अपनाइएका मूल्याङ्कन अभ्यासहरूलाई परिमार्जन गर्दै बाहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा वेशहरूसम्मको भूमिकालाई थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न टोलीहरू गठन गरी प्रदेशस्तरमा खटाइएको उल्लेख गर्दै निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी संस्थागत सुधारको माध्यम बनाउनुपर्ने बताए ।
सशस्त्र प्रहरी बल, नेपालले निरीक्षण कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतहरुको नेतृत्वमा विभिन्न विशेष टोली परिचालन गर्ने भएको छ । निरीक्षण टोलीलाई तोकिएको ढाँचाबाहेक वास्तविक वस्तुस्थिति दर्शाउने प्रतिवेदनसमेत पेश गर्ने अधिकार दिइएको छ । आर्थिक अनुशासन र सुशासन कायम राख्न निरीक्षण टोलीमा लेखा अधिकृतहरूलाई समेत संलग्न गराइएको छ भने सो टोलीले इकाइहरुमा विनियोजित पूँजीगत खर्चअनुसार कार्यक्षेत्रमा वास्तविक काम भए-नभएको सूक्ष्म अनुगमन गर्ने सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । निरीक्षण सम्पन्न भएपश्चात् वस्तुनिष्ठ समीक्षा गरी सशस्त्र प्रहरी बल, नेपालको आगामी दिनमा नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण र कार्यविधिगत सुधार गर्दै लैजाने योजनासमेत रहेको बताइएको छ ।
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ११:३८



















