जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न
वि.सं.२०८३ भदौ १ सोमवार १७:२२
75
shares
काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन आकाश मिडिया प्रा.लि.को १९औँ वार्षिकोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । जन आकाश मिडियाका प्रवन्ध निर्देशक तथा अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा वार्षिकोत्सव समारोह सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट आतिथि प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदी आतिथि रहेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि इन्दिरा रानामगरले सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको टिप्पणी गर्दै लोकतान्त्रिक मुलुकमा नागरिक अधिकारको संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भई तटस्थ हुनुपर्नेमा जोड दिइन् । साथै, समाजमा घटेका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले जस्ताको तस्तै देखाउने ऐनाको भूमिका निर्वाह गर्नुपर्ने बताइन् । आमसञ्चार माध्यम सबै पक्षको साझा संस्था र पत्रकारिता ‘दोस्रो संसद्’ का रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै वर्तमान अवस्थामा देखा परेका सञ्चार क्षेत्रका समस्याहरूको उचित निदान गरी निष्कर्षमा पुग्नुपर्ने कुरा उनले व्यक्त गरिन् ।
समारोहमा वरिष्ठ पत्रकार सम्मानबाट ताराचन्द्र देवकोटा, युवा पत्रकार सम्मानबाट अनिश अबिरल र सुसेली सम्मानबाट चन्द्रा न्यौपाने लगायत विभिन्न व्यक्तित्वहरू सम्मानित भएका थिए । त्यस्तै वार्षिकोत्सवका अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्या एका नेपाल पत्रकार महासंघ काठमाडौँका वरिष्ठ उपाध्यक्ष हेमबहादुर रानामगर, नेपाल सरकारका सहसचिव सुरेश श्रेष्ठ, साहित्यकार सुशीला ढकाल अधिकारी, लक्ष्मण बस्नेत, कल्याण खड्का, पार्वती पैडेल, अम्बिर कार्की, दामोदर ढकाल, रुबि सत्याल, गङ्गा खतिवडा, नवीन पल्लवलगायत कलाकार, पत्रकार, गायक, सङ्गीतकार तथा मोडलहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा ‘जन आकाश’का प्रबन्ध निर्देशक मोहन कार्कीले समारोहलाई सम्बोधन गर्दै संस्था यहाँसम्म आइपुग्दा पार गरेका सङ्घर्षका चरणहरूबारे प्रकाश पारे । सो अवसरमा जन आकाश मिडियाका अध्यक्ष कार्कीको सफलताको कथालाई मार्मिक रूपमा प्रस्तुत गरिएको थियो । साथै, संस्था स्थापनाको दशौँ वर्षदेखि वार्षिकोत्सवका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्यााएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने परम्परा थालिएको र यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिइने कुरा पनि अध्यक्ष कार्कीले बताए । उनले कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र उपस्थित सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गरे ।
वि.सं.२०८३ भदौ १ सोमवार १७:२२



















