भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१
168
shares
काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । भ्रमणका क्रममा भारतीय सेनाप्रमुख जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
नेपाल र भारतबीच रहँदै आएको विशिष्ट सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मित्रवत् सैन्य सम्बन्धको निरन्तरता स्वरूप एक-अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा छ । सन् १९५० देखि निरन्तर कायम रहेको यो अभ्यास दुई देशका सेनाबीचको आपसी विश्वास र अनुपम सम्बन्धको प्रतीकका रूपमा रहिआएको छ । यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई गत २०८१ मंसिर २७ गते भारतको नयाँदिल्लीस्थित एक विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरेकी थिइन् ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् । नेपाल बसाइँको क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्तासमेत गर्ने तयारी छ ।
वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१



















