देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै
वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११
267
shares
काठमाडौं: नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुखद् स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ । जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको हो ।
तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा देशले वंशीयतन्त्रलाई विस्थापित गरी गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ । २०६५ जेठ १५ गते २४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नागरिक सर्वोच्चता प्राप्त भएको यो दिन नेपाली जनताको स्वतन्त्रता र सामाजिक न्यायको उत्सव पनि हो ।
टुँडिखेलमा विशेष समारोह: राष्ट्रपतिले सम्बोधन गर्ने
१९औँ गणतन्त्र दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत राज्यका विशिष्ट महानुभावहरू सहभागी हुँदैछन् । उक्त समारोहलाई राष्ट्रपति पौडेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समारोहमा परिवर्तनका लागि आफ्नो प्राण आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र जेलनेल भोगेका अग्रजहरूको योगदानको स्मरण गरिनेछ ।
जनअपेक्षा र समृद्धिको चुनौती
संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरे पनि आम नागरिकको जीवनस्तरमा सुधार ल्याउनु अहिलेको मुख्य कार्यभार बनेको छ । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गर्नु तथा विश्वमञ्चमा नेपालको प्रतिष्ठा उँचो बनाउनु यो व्यवस्थाको पहिलो लक्ष्य हो ।
जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले यसलाई केवल राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीका रूपमा आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । राजनीतिक दलका नेताहरूले आजको दिनले नागरिकलाई समुन्नत र अधिकारसम्पन्न बनाउने अभियानमा जुट्न थप प्रतिबद्धता जगाउने विश्वास व्यक्त गरेका छन् ।
वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११




















