Texas College
YouTube Link

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

Facebook Link

 

फोटो बिनाको सञ्चार परिकल्पना बाहिरको कुरा हो । सयौँ शब्दको समाचार भन्दा आम पाठकले अहिले फोटो समाचार रुचाउँदै गएको परिदृश्य हामी माझ जगजायर छ । त्यसैले पनि अधिकांश सञ्चार माध्यमहरुले फोटो पत्रकार राख्ने गरेका छन् । सञ्चार माध्यममा फोटो पत्रकारका मुद्दाहरु पनि उठ्ने गरेका छन् । नेपालमा फोटो पत्रकारहरूको हकहित, सुरक्षा, क्षमता विकास र पेसागत सम्मानका लागि विभिन्न सङ्घसंस्था क्रियाशील छन् । तीमध्ये प्रमुख संस्थाको रुपमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल)ले आफूलाई स्थापित गरिरहेको छ । हामीले फोटो पत्रकारमाझ सक्रिय एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसँग विशेष कुराकानी गरेका छौँ । वि.सं. २०६५ देखि सक्रिय फोटो पत्रकारिता गर्दै आएका वन्त हाल राससको वरिष्ठ फोटो पत्रकारका रुपमा समेत कार्यरत छन् साथै उहाँ फोटोग्राफी प्रशिक्षक समेत हुन् । प्रदीपराज वन्तसँगको फोटो पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौतिका विषयमा गरिएको विशेष कुराकानीः

 

– तपाईँको फोटोग्राफी यात्राका बारेमा आम दर्शकलाई आफ्नो परिचय दिनुहोस् न, फोटो पत्रकारिता कहिलेदेखि सुरु गर्नुभयो ?

फोटो पत्रकारका रूपमा राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छु । हाल राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल)को अध्यक्षको दोस्रो कार्यकालको जिम्मेवारीसमेत मैले सम्हाल्दै आएको छु । साथै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको अफिसियल फोटोग्राफरका रूपमा पनि कार्यरत थिएँ । फोटोग्राफी मेरा लागि केवल पेसामात्र होइन, यो मेरो जीवनशैली, अभिव्यक्ति र सामाजिक परिवर्तनको माध्यम पनि हो ।

 

मेरो फोटोग्राफी यात्रा कक्षा ९ देखि सुरु भएता पनि फोटो पत्रकारिताको यात्रा भने २०६५ सालतिर जनदिशा दैनिकबाट सुरु भएको हो । त्यस समयदेखि नै मैले समाजका विविध पक्षहरू राजनीतिक, सामाजिक, सांस्कृतिक तथा मानवीय संवेदनाहरूलाई क्यामेराको माध्यमबाट अभिलेख गर्दै आएको छु । जनदिशा दैनिक बन्द भएपछि २०६७ सालबाट रासस प्रवेश गरी मैले थुप्रै राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका कार्यक्रम, आन्दोलन, चुनाव, सङ्कटका पलहरू (जस्तै भूकम्प, कोरोना महामारी, युएन महासभा, कोप–२८) र ऐतिहासिक क्षणहरू क्यामेरामा कैद गरेको छु । अहिले म नयाँ पुस्तालाई फोटोग्राफी सिकाउन प्रशिक्षण पनि दिइरहेको छु, ताकि हाम्रो समाजका फोटो पत्रकारिता भविष्यमा पनि राम्रो हुदै जाओस ।

 

– सुरुको चरणमा यहाँले फोटो पत्रकारिता गर्दाको अवस्था र हालको फोटो पत्रकारितामा के फरक पाउनुभएको छ ?

नेपालमा सुरुको चरणमा मैले फोटोग्राफी सुरु गर्दा अहिलेजस्तो प्रविधिको सहज पहुँच थिएन । डिजिटल क्यामेरा नभई फिल्म क्यामेराका भरमा काम गर्नुपर्थ्यो । एउटा राम्रो फोटो खिचेपछि त्यसलाई प्रिन्ट गर्न महिनौं लगाएर कलर ल्याबमा पठाएर रिल हेरेर कुन फोटो आयो कि आएन भनेर हेर्नुपर्थ्यो । त्यतिबेला फोटो खिच्दा ‘एक क्लिकको मूल्य’ ठूलो हुन्थ्यो, किनभने फिल्म सीमित थियो र त्यसमा खिचिएको तस्बिर कस्तो आयो भन्ने थाहा पाउन हामीले रोल विकास नभएसम्म पर्खनुपर्थ्यो ।

 

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ । डिजिटल क्यामेरा, मोबाइल फोटोग्राफी, अनलाइन सम्पादन, तत्कालै प्रकाशन, यी सबैले गर्दा अहिलेको फोटो पत्रकारिता द्रुत, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री बनेको छ । तर, यसका साथसाथै चुनौती पनि थपिएका छन् । अहिले सामाजिक सञ्जालले फोटोको मूल्य घटाएको महसुस हुन्छ । कुनै पनि फोटो सामाजिक सञ्जालमार्फत छिटो फैलन्छ । तर स्रोत र श्रमको कदर कम हुने गरेको महसुस हुन्छ । अर्को फरक, पहिलेको फोटो पत्रकारिता समाचार माध्यममार्फत सन्देशहरू व्यक्त गर्ने उद्देश्यमा केन्द्रित थियो, अहिले भने ‘छिटो भाइरल’ कसरी हुने भन्ने उद्देश्य राखेर फोटो पत्रकारलाई दबाब दिएको अनुभूति हुन्छ ।

 

तर फोटो पत्रकारिताको लक्ष्य भने अहिले पनि उस्तै छ, सत्यको खोजी र अविस्मरणीय क्षणको कैद र संरक्षण । फरक यत्ति मात्र हो, अहिले हामीसँग ती क्षणहरू अझ प्रभावकारी तरिकाले कैद गर्ने सुविधा र चुनौती दुवै थपिएको छ ।

 

 

– हाल नेपालमा फोटो पत्रकारको सङ्घसंस्था कतिवटा छन्, तपाईँ अध्यक्ष भएको राष्ट्रिय फोटो पत्रकार समूहले फोटो पत्रकारको हकहित र उनीहरूको क्षमता विकासका लागि के–कस्ता काम गर्दै आइरहेको छ ?

नेपालमा फोटो पत्रकारहरूको हकहित, सुरक्षा, क्षमता विकास र पेसागत सम्मानका लागि विभिन्न सङ्घसंस्था क्रियाशील छन् । तीमध्ये प्रमुख संस्था राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल) हो । जसको अध्यक्ष म नै छु । नेपालमा फोटो पत्रकारका सङ्घसंस्थामध्ये फोटो पत्रकार क्लब पनि रहेको छ, जुन नेपाल पत्रकार महासङ्घको एसोसिएट सदस्य संस्थाका रूपमा कार्य गर्दै आएको छ भने नेपाल फोटो पत्रकार महासङ्घ पनि रहेको छ ।

 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का प्रमुख गतिविधिहरू हाम्रो समूहले फोटो पत्रकारहरूको हकहित र पेसागत विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । क्यामेरा खरिदका लागि ऋण सुविधा, राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हरेक वर्ष, उत्कृष्ट फोटो पत्रकारहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गर्दै आइरहेको छ । सरकारका प्रमुखहरूलाई ज्ञापनपत्रमार्फत फोटो पत्रकारहरूको हकहितका लागि सरकारसँग विभिन्न मागहरू समावेश गरी ज्ञापनपत्र बुझाइएको छ जसमा जीवन बिमा, फोटो पत्रकारहरूको रोजगारी तथा सुरक्षाको ग्यारेन्टीलगायत फोटो सङ्ग्रहालय स्थापनाका लागि जग्गा र भवन उपलब्ध गराउन माग पनि राख्दै आएका छौँ ।

 

फोटो पत्रकारहरूको व्यक्तित्व विकास र तालिम नयाँ पुस्ताका फोटो पत्रकारहरूलाई लक्षित गर्दै देशैभरि विभिन्न फोटोग्राफीका तालिम सञ्चालन गरिएको छ । जसले उनीहरूको पेसागत दक्षता अभिवृद्धि गर्न सहयोग पुर्याउँदै आएको छ ।

 

– फिल्डमा प्रत्यक्ष खट्ने फोटो पत्रकारहरू प्रहरी र आन्दोलनकारीको भिडन्तमा पर्ने भएकाले भौतिक सुरक्षाका लागि संस्थाले के–कस्ता कार्यहरू गर्दै आइरहेको छ ?

यो धेरै राम्रो र सान्दर्भिक प्रश्न हो । फोटो खिच्नका लागि फिल्डमा खटिने फोटो पत्रकारहरू विशेषतः आन्दोलन, भीडन्त, दङ्गा, प्राकृतिक विपद् वा युद्धजस्ता संवेदनशील क्षणहरूमा प्रत्यक्ष जोखिममा पर्ने गर्छन् । यस्तो अवस्थामा उनीहरूको भौतिक सुरक्षा अत्यन्त महत्वपूर्ण विषय पनि हो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालले यो चुनौतीलाई गम्भीरतापूर्वक लिई विभिन्न उपायहरू अवलम्बन गर्दै पनि आएको छ ।

 

एनएफपिजे नेपालले आफ्ना सदस्यलाई आधिकारिक प्रेस कार्ड प्रदान गर्दै आइरहेको छ, जुन सुरक्षाकर्मीसँगको पहिचान र सहजीकरणका लागि प्रयोग हुने ी सुरक्षाको लागि प्रेस ज्याकेट हेल्मेट आदि वितरण गर्दै आइरहेको छ भने विशेषगरी ठूलो आन्दोलन वा जोखिमपूर्ण कार्यक्रममा खटिने सदस्यहरूका लागि स्वयं सतर्कताका लागि सूचना तथा जानकारीहरू पनि नियमित रूपमा अभियान सञ्चालन गर्दै आइरहेका छौँ ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षा निकायसँग निरन्तर संवाद गर्दै फोटो पत्रकारलाई फिल्डमा सहज काम गर्न दिने वातावरण सृजना गर्न पहल गरिएको छ । यदि कुनै फोटो पत्रकारप्रति दुव्र्यवहार, आक्रमण वा गिरफ्तारी हुने घटना घट्छ भने एनएफपिजे नेपालले कानुनी सहायता, सार्वजनिक दबाबका लागि प्रेस विज्ञप्तिमार्फत विभिन्न सञ्चारमाध्यमबाट समर्थन प्रदान गर्ने नीति लिँदै आएको छ ।

 

– नेपालमा फोटो पत्रकारले कस्ता खालको समस्या भोग्नुपरेको छ ?

नेपालमा फोटो पत्रकारहरूले विगतदेखि हालसम्म विभिन्न प्रकारका पेसागत, कानुनी, आर्थिक र भौतिक चुनौती भोग्दै आएका छन् । आन्दोलन, झडप, दङ्गा, भीड नियन्त्रणजस्ता घटनामा रिपोर्टिङ गर्दा फोटो पत्रकार सुरक्षाकर्मी तथा प्रदर्शनकारी दुवैको आक्रमणको निशानामा पर्ने गरेका छन् । धेरैजसो घटनामा त फोटो पत्रकारले पत्रकारको पहिचान हुँदाहुँदै पनि ‘त पत्रकार हो’ भन्ने जस्तो दुव्र्यवहार पनि भोग्नुपरेको छ ।  धेरै फोटो पत्रकार अस्थायी, ज्यालादारी कर्मचारीका रूपमा सञ्चारगृहमा काम गर्छन्, जसले गर्दा तलब, बिमा, भत्ता वा सुरक्षाको ग्यारेन्टी हुँदैन । जसले गर्दा पहिलो चरणमा नै फोटो पत्रकार समस्यामा पर्दै आइरहेका छन् ।

 

उदाहरणका लागि कोरोना महामारीका बेला विभिन्न सञ्चारगृहमा काम गर्ने धेरै फोटो पत्रकारहरूले रोजगारीबाट हात धुनुपरेको थियो । कतिपय मिडिया हाउसमा फोटोको प्रयोग गरे पनि समयमा पारिश्रमिक नदिने प्रवृत्ति देखियो । त्यो अझै पनि कायमै नै छ ।  सामाजिक सुरक्षा (जस्तै पेन्सन, स्वास्थ्य बिमा)को समस्या अझै पनि यथावत नै छ । ज्यालादारीका रुपमा सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारसमेत यसबाट वञ्चित हुनु झनै दुःखको कुरा हो । कतिपय संवेदनशील विषयमा काम गर्दा फोटो पत्रकारहरूलाई सेन्सर, डर, धम्की वा राजनीतिक दबाबसमेत सहनुपरेको उदाहरण धेरै छ ।

 

मोफसलमा कार्यरत फोटो पत्रकारहरूमा प्राविधिक ज्ञान, क्यामेरा अपग्रेड, डिजिटल सम्पादनजस्ता सीपको अभाव पनि देखिन्छ भने स्मार्ट फोनको प्रयोग गरी फोटोग्राफी वा फोटो पत्रकारिता गर्नाले यसको गुणस्तर र व्यावसायिक फोटो पत्रकारको भूमिका कमजोर हुँदै गइरहेको छ ।

 

धेरै अनलाइन पोर्टलहरूले फोटो पत्रकारको अनुमतिबिना फोटो चोरी गरेर प्रयोग गर्ने प्रवृत्ति पनि अहिले बढ्दै गएको छ । फोटो पत्रकारको नाम र स्रोत उल्लेख नगर्ने चलन अझै विद्यमान नै छ । विभिन्न सञ्चारगृहले सूचना विभागको प्रेस कार्ड नबनाइदिएका कारण फोटो पत्रकारहरूले निषेधित क्षेत्र वा सरकारी कार्यक्रममा सजिलै पहुँच नपाउने समस्या पनि विगत लामो समयदेखि भोग्दै आइरहेका छन् ।

 

– तपाईँ त विभिन्न देशमा गएर भिभिआइपीसँगको फोटो खिचिरहनु भएको छ । विदेश र नेपालमा गर्ने फोटो पत्रकारिताको बीचमा कस्तो फरक पाउनुभयो ?

मेरो अन्तरराष्ट्रिय अनुभव र आफ्नो देशको फोटो पत्रकारिताबीच ठूलो अन्तर पाएको छु । मैले विभिन्न अन्तरराष्ट्रिय सम्मेलनहरू (जस्तै युएन महासभा, सार्क सम्मेलन, विमिस्टेक, कोप–२८ लगायत भारत, चीन, युरोपलगायत देशका भिभिआइपीसँग विदेशमा प्रधानमन्त्री पुष्पकमल दाहालका साथमा जाँदा फोटो पत्रकारिता गर्ने मौका पाएको थिएँ । त्यहाँको अनुभवसँग नेपालको अवस्था तुलना गर्दा थुप्रै फरक देखिन्छन् ।

 

विदेशमा, विशेषगरी विकसित राष्ट्रहरूमा फोटो पत्रकारलाई समय, स्थान र पोजिसन पहिले नै सुरक्षित गरिएको हुन्छ । प्रेस र फोटो पत्रकारलाई छुट्टै स्टेज, पास, समयतालिका, ब्रिफिङ दिइन्छ, जसले काम गर्न सहज बनाउँछ । नेपालमा भने अझै पनि कार्यक्रमहरूमा भीड व्यवस्थापनको अभाव, प्रेसको उपेक्षा हुने गरेको पाएको छु । विदेशमा प्रायः फोटो पत्रकारहरूले उच्चस्तरीय क्यामेराको प्रयोग गर्ने गर्छन् भने फोटो सम्पादन, अपलोड र ट्रान्समिसन पनि तत्काल गरिन्छ । प्रविधिमैत्री वातावरणका कारण काम गर्न छिटोछरितो भएको पाइन्छ भने नेपालमा अझै धेरैजसो फोटो पत्रकारहरू आफ्नै लगानीमा क्यामेरा किनेर काम गर्छन् र प्रविधिमा लगानी गर्न कठिनाइ भोगिरहेका छन् ।

 

विदेशमा फोटो पत्रकार भनेपछि विशेष सम्मान नै गरिन्छ । सुरक्षाकर्मी र आयोजक दुवैले फोटो पत्रकारिताको भूमिका बुझेर समर्थन गर्ने गर्दछन् भने नेपालमा अझै कतिपय सुरक्षाकर्मी वा आयोजकहरूले फोटो पत्रकारलाई बाधक वा अनावश्यक जस्तो व्यवहार गर्ने गरेको पाइन्छ ।

 

विदेशमा हुने भिभिआइपीका कार्यक्रममा जानुअघि फोटो पत्रकारलाई औपचारिक ब्रिफिङ, ट्राभल डकुमेन्टेसन र सुरक्षा निर्देशन दिइन्छ । नेपालमा यस्तो ब्रिफिङको परम्परा कमै मात्रामा पाइन्छ भने सुरक्षा निकाय र आयोजकको पहुँचमा भर पर्नुपर्ने र फोटो खिच्नुपर्ने बाध्यता अझै पनि यथावत नै छ ।

 

विदेशमा फोटो प्रयोग गर्दा फोटोग्राफरको नाम स्पष्ट रूपमा उल्लेख गरिन्छ । फोटो प्रयोग गर्नुपूर्व अनुमति लिएर मात्र प्रयोग गरिन्छ, तर नेपालमा अझै फोटो चोरेर प्रयोग गर्ने, स्रोत नदिने वा सौजन्य लेखेर टार्ने प्रवृत्ति रहँदै आएको छ ।

 

 

– तपाईँको विभिन्न देशका फोटो पत्रकारसँग सम्बन्ध राम्रो नै छ, एनएफपिजेको विभिन्न एसियाली देशहरूसँगको भाइचारा सम्बन्ध कस्तो छ र कसरी काम गरिरहनुभएको छ ?

धन्यवाद ! तपाईँको प्रश्न अत्यन्त सान्दर्भिक छ । किनकि आजको पत्रकारिता, विशेषतः फोटो पत्रकारिता, एकदेशीय होइन, अन्तरराष्ट्रिय सम्बन्ध र सहकार्यमार्फत अझ समृद्ध र सशक्त बन्नुपर्छ । मैले व्यक्तिगत तथा राष्ट्रिय फोटो पत्रकार समूह नेपालको अध्यक्षका हैसियतमा विभिन्न एसियाली देशका फोटो पत्रकारहरू र तिनका संस्थाहरूसँग सहकार्य, मित्रता र भाइचारा सम्बन्ध सुदृढ गर्दै आएको छु । सार्क राष्ट्रहरू (भारत, बङ्गलादेश, पाकिस्तान,मलेसिया, भुटान,जापान,चिन, भियतनाम, म्यानमार आदि)का फोटो पत्रकारहरूसँग संवाद र सहकार्यका लागि विभिन्न माध्यमबाट संवाद र सहकार्य गर्ने प्रयासहरु भइरहेको छ । हामीले संस्था स्थापनासँगै बङ्गलादेशका फोटो पत्रकार सङ्घसँग निरन्तर रूपमा भाइचारा सम्बन्ध स्थापित गर्दै एकापसमा फोटो पत्रकारितामार्फत पर्यटन र संस्कृति र खेललाई मध्यनजर गर्दै फोटो प्रदर्शनी तथा अन्तरदेशीय फ्रेन्डसीप फुटबलजस्ता कार्यक्रम गर्दै आइरहेका छौँ । त्यसैगरी चीन गान्सु मोर्डन फोटोग्राफी सोसाइटी चीन तथा विन्जाओ फोटोग्राफर एसोसियसनसँग हाम्रो औपचारिक मित्रता सुमधुर बनेको छ । भोलिका दिनमा फोटो स्टोरी टेलिङ, कन्फ्लिक्ट फोटोग्राफीजस्ता विषयमा सार्कस्तरीय संयुक्त कार्यशाला पनि आयोजना गर्ने लक्ष्य लिएका छौँ । जसले फोटो पत्रकारहरूलाई अन्तरराष्ट्रियस्तरमा सिक्ने अवसर दिन्छ ।

 

– अन्त्यमा भोलिका दिनमा नेपालमा व्यावसायिक फोटो पत्रकारितामा आउने नयाँ युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

मेरो हृदयबाट आउने सन्देश हो यो । फोटो पत्रकारिता केवल पेसा होइन, समाज र सत्यको ऐना हो । त्यसैले म भोलिका दिनमा यस क्षेत्रमा आउन चाहने नयाँ पुस्ताका युवालाई केही सन्देश पनि दिन चाहन्छु । फोटो खिच्नुमात्र पत्रकारिता होइन, समाचारयोग्य फोटो खिच्ने प्रयास गर्नु होस् फोटो पत्रकारिता भनेको बटन थिचेर फोटो खिच्नुमात्र होइन, त्यो फोटोले समाजमा भएका मानवता, पीडा, परिवर्तन र आशाको आवाजका साथै समाचार पनि बोक्नु पर्छ । प्रविधि बदलिँदैछ जसले गर्दा तपाईँहरू महँगो मूल्यमा डिएसएलआर क्यामेरा, ड्रोन खरिद गरेर व्यावसायिक फोटो पत्रकारिता गर्दै हुनुहुन्छ प्रविधि मैत्रि ज्ञानको पनि विज्ञता हासिल गर्नु पर्दछ । सिप विकास गर्नु होस, त्यसैले फोटो पत्रकारिताको मूल्य, नैतिकता र जनताको पक्षमा उभिने साहस पनि सिक्नुहोस् । मोबाइल फोटो जर्नालिज्मसम्मले तपाईँको क्षमतालाई दिनदिनै चुनौती दिँदै आइरहेकाले त्यसलाई पनि ख्याल गर्दै आफूलाई व्यावसायिक बनाउने उद्देश्य लिनुहोला ।

 

कहिलेकाहीँ सत्ताविरुद्ध, शक्तिविरुद्ध, हिंसाविरुद्ध फोटो खिच्नुपर्ने हुन्छ । जहिले पनि सत्यको पक्षमा उभिनुहोस्, दबाबमा परेर कहिल्यै पनि नडराउनुहोस् । अरू फोटो पत्रकार, लेखक, भिडियो रिपोर्टर, सम्पादकसँग सहकार्य गर्नु पर्दछ जसले गर्दा तपाईँलाई फोटो पत्रकारितामा समस्या पर्दा सहजीकरण गर्न पनि सजिलो हुने गर्दछ । सुरुमा तपाईँको फोटो छापिएन होला, नाम छुट्यो होला, तलब कम भयो होला । तर, इमान्दार प्रयास कहिल्यै खेर जाँदैन, त्यसैले मेहनत र धैर्य गर्न सिक्नुहोस् । म तपाईँहरूसँग छु र तपाईँहरूको यो फोटोपत्रकारिताको यात्रामा सधैँ साथ र सहयोग गर्न तयार छु ।

 

धन्यवाद ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...