म्यानमार र कीर्गिस्तान तथा नेपाल र लेबनान भिड्दै
वि.सं.२०८१ फागुन ८ बिहीवार १०:३९
1.5K
shares
काठमाडौं: फोर नेसन्स वुमन्स इन्टरनेसनल च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेल लेबनानसँग खेल्दैछ । दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ । यसअघि दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच प्रतिष्पर्धा हुनेछ ।

पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ । सिंगल लिगमा भइरहेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा म्यानमारसँग लेबनान ३-१ ले पराजित भएको थियो । अर्को खेलमा भने नेपालले कमजोर टोली किर्गिस्तानसँग १-० को जित निकालेको थियो ।

प्रतियोगिताको लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । हालसम्मको तालिका अनुसार म्यानमार र नेपाल तीन अंकसहित शीर्ष स्थानमा छन् । किर्गिस्तान र लेबनान भने अंकविहीन छन् । त्यसैले लेबनना प्रतियोगितामा जित निकाल्नै पर्ने दबाबमा छ । यता, नेपाल भने यो खेलमा जितसहित फाइनल यात्रा मजबूत बनाउन चाहन्छ । किनभने अर्को विपक्षी म्यानमार नेपालभन्दा बलियो मानिन्छ ।

यो खेलमा नेपाली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको नतिजा दोहोर्याउन चाहन्छन् । सेमिफाइनलमा भएको उक्त भेटमा नेपालले लेबनानलाई २-१ ले हराएको थियो । आजको खेलमा बराबरी वा हारले भने नेपाललाई फाइनल यात्राका लागि चुनौती हुनेछ । फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् । ।

वि.सं.२०८१ फागुन ८ बिहीवार १०:३९




















