उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै
वि.सं.२०८१ पुस ६ शनिवार १२:००
1.1K
shares
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो । लिग र पहिलो क्वालिफायर दुवैमा जनकपुरमाथि सुदूरपश्चिम विजयी भएको थियो । पहिलो संस्करणको एनपिएल विजेताले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनको झिनो स्कोरमा समेटिएको थियो । लिग चरणमा शीर्ष दुईमा रहेका यि दुवैले पहिलो क्वालिफायर खेलेका थिए । बुधबारको पहिलो क्वालिफायरमा यि आमनेसामने भएका थिए । पहिलो क्वालिफायरमा पनि जनकपुरमाथि हाबी सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित हात पारेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
वि.सं.२०८१ पुस ६ शनिवार १२:००




















