काठमाडौं उपत्यकामा माघे संक्रान्तिदेखि मेलम्चीको पानी आउने
वि.सं.२०८० पुस २९ आइतवार ०८:१७
1.9K
shares
काठमाडौं: वर्षाले क्षति पुगेको मुहान क्षेत्र मर्मत गरी मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने भएका छन् । मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।
आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उदघाटन गरेका थिए । त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन् । तर पानी वितरण अघि गर्नुपर्ने थुप्रै काम बाँकी भएकाले धारामा पानी आउन केही दिनमै बन्द भएको थियो ।
वि.सं.२०८० पुस २९ आइतवार ०८:१७




















