श्रीलंकामाथि विशाल लक्ष्य पछ्याएको पाकिस्तानको शानदार जित
वि.सं.२०८० असोज २४ बुधवार ०६:०९
1.6K
shares
काठमाडौं: आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको छ । श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
मंगलबार हैदरावादमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले १० बल अगावै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि मोहमद रिजवान र अब्दुल्ला शफिकले शतकीय इनिङ्स खेले । रिजवानले नटआउट १३१ रनको इनिङ्स खेल्दा शफिकले ११३ रन बनाए । सउद शकिलले ३१, इमाम उल हकले १२ र बाबज आजम १० रनमा आउट भएका थिए । इफ्तिखार अहमद २२ रनमा अविजित रहे ।
श्रीलंकाका दिलशान मदुशंकाले दुई तथा महेश तिक्साना र माथिसा पथिरानाले समान एक एक विकेट लिए । सुरुआती ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा ३४४ रन बनायो । कुशल मेन्डिस र सदिरा समरबिक्रमाको शतकीय इनिङ्समा श्रीलंकाले ठुलो स्कोर खडा गरेको थियो । पथुम निसान्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । धनन्जय डी सिल्भाले २५, दासुन सनाकाले १२ र डुनिथ वेललेजले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पाकिस्तानका हसन अलीले सर्वाधिक ४ विकेट लिए । हरिस राफले २ तथा साहेन साह अफ्रिदी, मोहमद रिजवान र सादब खानले समान एक एक विकेट हात पारे । पाकिस्तानले दुई खेलमा जित निकाल्दै चार अंक जोडेको छ । पहिलो खेलमा साउथ अफ्रिकासँग हारेको श्रीलंका अंक विहीन छ ।
मंगलबार नै भएको पहिलो खेलमा इङ्ल्याण्डले बंगलादेशलाई १३७ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ । इङ्ल्याण्डले प्रस्तुत गरेको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ दशमलव २ ओभरमा २२७ रन बनाएर अलआउट भयो ।

वि.सं.२०८० असोज २४ बुधवार ०६:०९




















