नेपाली भूमिमा ग्रहण लागेकै हो, यस्ता सरकार बनेका छन् जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन: ओली
वि.सं.२०८० जेठ २७ शनिवार १५:५७
1.5K
shares
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘अहिले अवस्था राम्रो छैन, देशलाई नै ग्रहण लागेजस्तो भएको छ । दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको आर्थिक वृद्धि दर २ प्रतिशत नपुग्ने अवस्था छ । हाम्रा पालामा सरदर ६ दशमलव ५ प्रतिशत पुगिसकेको उत्पादन वृद्धि दर २ प्रतिशतभन्दा तल आइसक्यो । ओलीले भने, ‘युक्रेनको वार भनेर हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीकहाँ धुलो उडायो कि धुवाँ उडायो ? युक्रेनको वारले हो प्रचण्डजीले अस्ति यहाँका नदीनाला सित्तैमा दिएर आएको ? आफ्नो भूमिका बारेमा चुइँक्क बोल्न नसकेको ?’
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका बारेमा चुइँक्क बोल्न नसकेको उनको आरोप छ । प्रचण्डले कौडीका मोलमा नेपालका नदीनाला भारतलाई सुम्पिएको आरोप पनि उनले लगाए ।
‘फुकोट कर्णालीजस्तो सस्तो आयोजना आफैं बनाउने भनेर मैले २०७६ मा निर्णय गरेको थिएँ । अहिले त प्रधानमन्त्रीले किस्तीमा राखेर उतै (भारतलाई) सुम्पिनुभएको छ । के शर्तमा दिइएको प्रधानमन्त्री भन्न सक्नुहुन्न । नेपाली जनतालाई थाहा छैन कुन कुन नदी कस्तो अवस्था गएका छन् ।’ ओलीले भने, यत्तिकै होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दुरदीन छाएकै हो । नेपाली भूमिमा ग्रहण लागेकै हो । यस्ता यस्ता सरकार बनेका छन् जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन ।’
सरकार एमालेको विरोधमा समय खर्चिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने बताए ।
वि.सं.२०८० जेठ २७ शनिवार १५:५७



















