ब्राजिलमाथि मोरक्कोको रोमाञ्चक जित
वि.सं.२०७९ चैत १२ आइतवार ०७:५७
1.6K
shares
एजेन्सी: मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदानमा मोरक्कोले अधिकांश युवा खेलाडीलाई टोलीमा उतारेको थियो । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गर्दा ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए ।
ग्रान्ड स्टेड डि टानगेरमा भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि दवाव बढाएपनि मोरक्कोलाई नतिजा सुम्पिन पुग्यो । खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गरेपछि ब्राजिल खेलमा पछि परेको थियो ।
खेलको ६७औं मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, त्यो बराबरीलाई ब्राजिलले रोक्न सकेन । ७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै ब्राजिललाई हार चखाए ।
ब्राजिलका अन्तरिक प्रशिक्षक रामोन मेनेजेसले मोरक्कोविरुद्ध रोनी, राफयल भेइगा, एन्डरे सान्तोष, रोजर इवानेज, भिटर रोकी, युरी अल्बर्टो र आर्थरजस्ता युवा र नयाँ खेलाडीलाई मौका दिएको थियो ।
कप्तान क्यासमिरो, भिनिसियस जुनियर, रोड्रिगो, लुकास पाक्वेटा, एडर मिलिसाओ, इमर्सन रोयल र एन्टोनीले खेलेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
वि.सं.२०७९ चैत १२ आइतवार ०७:५७


















