बिहीबारदेखि छैठौं निफ हुँदै, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने
वि.सं.२०७९ चैत १ बुधवार १७:४८
1.8K
shares
काठमाडौं: छैठौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबार आयोजना हुँदैछ । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।
चैत्र ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ । ‘निफ’को समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट हुने कार्यक्रम छ भने, समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।
५५ देशबाट ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको कार्यक्रममा आयोजकले जानकारी दिएको छ । महोत्सवमा सहभागी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित ५ वटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा हुनेछन् । विश्वभरिका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कला अनुरागी कोही पनि बञ्चित हुनु हुन्न भनेर आयोजकले फिल्म प्रदर्शन ४ हलमा मिलाएको हो ।
निफको ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिनेछ । यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् ।
यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरूले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउनेछन् ।
कार्यक्रममा निफका प्रमुख सल्लाकार, कलाकार तथा निर्देशक नीर शाहले महोत्सवमा एकै ठाउँबाट संसार घुम्न र बुझ्न सकिने भन्दै महोत्सवको लाभ फिल्मकर्मी तथा सर्वसाधारणले उठाउनुपर्ने धारणा राखे ।
वि.सं.२०७९ चैत १ बुधवार १७:४८



















