वर्तमान सरकार घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने छ: प्रचण्ड
वि.सं.२०७९ फागुन ३० मंगलवार १६:०४
1.5K
shares
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालै आफू नेतृत्वको सरकार तलमाथि नहुने र वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन् ।
‘मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा मैले जेजति कुरा भनेको छु’, उनले भने, ‘तिनीहरू फेरिँदैनन् । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’
‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन’, उनले भने, ‘हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका थियौँ सामाजिक न्याय, सुशासन र समृद्धि । त्यसमा दृढ भएर अगाडि जान्छौँ । मन्त्रीहरू फेरिनुहुन्छ, सरकारको नेतृत्व तलमाथि हुँदैन । सरकारको नीतिगत प्राथमिकता पनि फेरिँदैन, त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस् ।’
प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने पनि बताएका छन् । उनले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् ।
वि.सं.२०७९ फागुन ३० मंगलवार १६:०४




















