यी हुन एन्फा आपत्कालीन बैठकबाट भएका आठ निर्णय
वि.सं.२०७९ पुस ३० शनिवार ०७:२७
1.4K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन कार्यसमिति बैठकले आठ वटा निर्णय गरेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारितसहित आठ निर्णय गरेको हो ।
फागुन १९ गतेबाट दशरथ रंगशालामा सुरु हुने ए डिभिजन लिगका लागि भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकटको मुल्य तोकेको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा शुक्रबार बसकेको कार्यसमितिको आकस्मिक बैठकले फागुन १९ गतेदेखि ए डिभिजन लिग र चैत १५ गते देखि सहिद स्मारक बी डिभिजन लिग सुरु गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
अध्यक्ष नेम्बाङको संयोजकत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु सदस्य रहने गरि लिग सञ्चालन समिति गठन गरेको छ । यसअघि एन्फाले अलग्गै लिग समिति बनाएर लिग सञ्चालन गरेको थियो ।
बैठकले विभन्न ८ एजेन्डामा निर्णय गर्ने क्रममा ए डिभिजन लिगको टिकेटिङ अधिकारको लागि न्युनतम १ करोड ५० लाखको टेन्डर आव्हान गर्ने निर्णय गरेको छ ।
त्यस्तै मुख्य प्रायोजक बाहेक कर्मसियल र मार्केटिङ अधिकारको लागि न्युनतम १ करोड ५० लाख रुपैयाँको तोकेर टेन्डर आह्वान गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै सहिद स्मारक ए, बी र सी डिभिजन लिगका ब्रोडकास्टिङ अधिकारको लागि न्युनतम ६० लाख रुपैयाँको तोकेर टेन्डर आह्वान गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले शुक्रबार जारी गरेको विजप्तीमा उल्लेख छ ।
ए, बी र सी लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्रीको लागि टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै ए, बी र सी लिगका लागि तीन सदस्यीय इन्ट्रगिटी समितिको गठन गर्ने निर्णय समेत गरेको छ ।

वि.सं.२०७९ पुस ३० शनिवार ०७:२७




















