नेपाल बंगलादेशसँग बराबरीमा रोकियो, फाइनल पुग्ने झिनो आशा
वि.सं.२०७९ साउन १७ मंगलवार १८:३४
4.8K
shares
काठमाडौं: भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै अंक बाँढेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको हाफपछिको सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।
नेपालका लागि लगत्तै खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।
निकै नै प्रतिस्पर्धात्मक र आक्रमक खेलमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो । बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका छन् ।
नेपालका बेञ्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए । खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् ।
बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ४ खेलमा ७ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।
अपराजित रहेको बंगलादेशले ४ खेलमा १० अंक जोडेर शिर्ष स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको छ ।
अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।
भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल बाहिरिने छ । भारत र माल्दिभ्सबीचको खेल आज बेलुका ७:१५ बजे सुरु हुनेछ ।
वि.सं.२०७९ साउन १७ मंगलवार १८:३४


















