साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै
वि.सं.२०७९ साउन १५ आइतवार १२:५३
4.4K
shares
काठमाडौं: जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतसँग बेलुका ७:१५ बजे सुरु हुनेछ । नेपालले आज भारतलाई हराउन सके फाइनलमा स्थान बनाउनेछ ।
नेपाल दुई खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको बंगलादेशले तीन खेलबाट ९ अंक जोडेको छ ।
भारतको दुई खेलबाट ३ अंक छ । दुई खेल खेलेको मालदिभ्स र तीन खेल खेलेको श्रीलंकाले अंक जोड्न सकेका छैनन् ।
नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले हराएको थियो ।
पहिलो खेलमा बंगलादेशसँग २-१ गोलले पराजित भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० गोलले हराएर फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो ।
राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने भएकाले नेपालसँग पराजित भएको अवस्थामा भारत पहिलो चरणबाटै बाहिरिनेछ ।
भारतले सन् २०१९ मा आयोजित साफ यू-१९ च्याम्पियनसिप जितेको थियो । नेपालले साफ यू-१९ च्याम्पियनसिप सन् २०१५ र २०१७ गरी दुईपटक जितेको छ ।
वि.सं.२०७९ साउन १५ आइतवार १२:५३




















