एक महिना लामो स्वस्थानी ब्रत आजदेखि सुरु
वि.सं.२०७८ माघ ३ सोमवार ०७:३८
2.1K
shares
काठमाडौं: प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु गरिँदै छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाई ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने ब्रत विधि छ ।
सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गोतमले बताए। उनले भने‚ ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ ।’
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ ।
यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी ब्रत मात्र गर्ने गरी तयारी गरिएको छ । बर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।
विगत वर्षमा करिब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ । कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र ब्रत बसेका थिए । विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार ०७:३८




















