‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइजमाथि मछिन्द्रको सहज जित
वि.सं.२०७८ माघ २ आइतवार १६:३०
1.9K
shares
काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ४-० गोल अन्तरले सहज जित निकालेको छ ।
मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगरले दुई गोल गरे ।
यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे ।
ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो ।
खेलको ५६औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाए ।
ब्रिगेडका गोलकिपर सिंहले नियन्त्रणमा लिन नसकेको बल खोस्दै छिरिङ गुरुङले गरेको क्रसमा रेजिन सुब्बाले उपलब्ध गराएको बलमा विमलले हेड मार्फत गोल गरे ।
खेलको ६२औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।
यसैगरी विमलले ६६औं मिनेटमा ह्याट्रिकको मौका गुमाए ।
कप्तान सुजलको क्रसमा विमलले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल ब्रिगेडका गोलकिपर सिंहले मुश्किलले बचाए ।
खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । विमलको पासमा उनले सहजै गोल गरे ।
जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ ।
मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ ।
मछिन्द्रले उपाधि होड समेत बलियो बनाएको छ ।
दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ ।
ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
खेलमा मछिन्द्रका विमल म्यान अफ दि म्याच चुनिए ।
ब्रिगेडका रन्दिप पौडेल इमर्जिङ प्लेयर चुनिए ।
वि.सं.२०७८ माघ २ आइतवार १६:३०



















