साताको पहिलो दिन सेयर बजारमा हरियाली छाउँदा चम्किए १५ कम्पनी
वि.सं.२०७८ पुस २५ आइतवार १८:०४
2.7K
shares
काठमाडौं: सेयर बजारमा साताको पहिलो कारोबार दिनमै नेप्से ७३ अंकले बढेको छ ।
गत साता १६९ अंकले बढेको नेप्सेले यो साता पनि सोही गति कायम राखेको हो ।
गत साता औसतमा दैनिक ४ अर्बको कारोबार भएकोमा आज ३ अर्बभन्दा धेरैले बढेर ७ अर्ब बढीको कारोबार भएको छ ।
आइतबार सेयर बजार मापक सूचक नेप्से ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको छ ।
आज २३९ कम्पनीको ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।
व्यापार समूह सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैंक र फाइनान्स समूह पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कारोबार भएका २३९ कम्पनीमध्ये २१८ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १३ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २९ करोड बढीको सेयर किनबेच भएको छ ।
त्यस्तै, प्रभु बैंकको साढे २० करोड र अपर तामाकोशीको २० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
उच्च अंकले बढेको बजारमा आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
नेपाल हाइड्रो डेभलपर र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मध्य भोटेकोशी र युनियन हाइड्रोका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, न्यादी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, एचआइडीसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
त्यस्तै, माउन्टेन इनर्जी, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो, गुडविल फाइनान्स र नेशनल हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज नेपाल एसबीआई बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.४२ प्रतिशत गुमाएका छन् ।
वि.सं.२०७८ पुस २५ आइतवार १८:०४




















