ओली मनाउने जिम्मा देउवालाई
वि.सं.२०७८ पुस २३ शुक्रवार १५:३१
2K
shares
काठमाडौं: उच्चस्तरीय राजनीतिक संयन्त्रले संसद् गतिरोध अन्त्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिईएको छ ।
गतिरोध अन्त्यका लागि ओलीसँग सल्लाह गर्ने र संसदीय गतिरोध अन्त्यका लागि देउवालाई समितिले जिम्मा दिएको हो ।
आज(शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो । जस अनुसार ओलीलाई भेट्न देउवा वालकोट जाने भएका छन् ।
यस्तै वैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको छ ।
पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ ।
गठबन्धनभित्र नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई ५-५, जनता समाजवादी पार्टी (जसपा)लाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट छुट्ट्याउँदै उम्मेदवारी दिइएको छ ।
राष्ट्रियसभाका रिक्त हुन लागेका १९ सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार १५:३१



















