सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षस्थानमा रहेको मछिन्द्र संकटासँग रोकियो
वि.सं.२०७८ पुस २ शुक्रवार १८:५१
1.9K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले संकटा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसर गुमाउँदा अंक बाड्न बाध्य बनेको हो ।
खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमायो । जय गुरुङको पासमा फोडे फोफानाको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले अघि बढ्दै बचाएका थिए ।
खेलको दोस्रो हाफमा सुधारिएको खेल पस्कदै संकटामाथि दवाव बढाएको मछिन्द्रले ६१औं मिनेटमा गोल गरेपनि गोलले मान्यता पाएन ।
सुनिल बलको पासमा मनिष डाँगीले गोल गरेपनि मनिषले बल भेट्नुअघि नै गोलरक्षक राजा बाबु थापालाई फउल गर्न पुगेका थिए ।
जारी लिगमा अपराजित रहेको मछिन्द्रको यो दोस्रो बराबरी हो ।
यसअघि मछिन्द्रले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।
अपराजित रहेको संकटाको भने यो तेस्रो बराबरी हो । संकटाले हिमालयन शेर्पा र मनाङसँग बराबरी खेलेको थियो ।
बराबरसँगै मछिन्द्रले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने मौका गुमाएको छ ।
मछिन्द्रले एक खेल कम खेलेको मनाङलाई १ अंकले पछि पारेको छ ।
शनिबार दोस्रो स्थानमा रहेको मनाङले पुलिसलाई हराउन सके मछिन्द्रले शीर्षस्थान गुमाउनेछ ।
बराबरीसँगै संकटाले पनि शीर्षस्थानमा पुग्ने अवसर गुमाउँदा चौथो स्थानमा यथावत रहेको छ । समान ९ अंक नै रहेपनि आर्मी गोलअन्तरमा तेस्रो स्थानमा छ ।
वि.सं.२०७८ पुस २ शुक्रवार १८:५१



















