नेपालमा पनि भेटियो नयाँ ओमिक्रोन भेरियन्ट, दुई जनामा संक्रमण पुष्टि
वि.सं.२०७८ मंसिर २० सोमवार १३:५०
1.7K
shares
काठमाडौं: नेपालमा पनि कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरिएन्ट भेटिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर २ जना व्यक्तिमा ओमिक्रोनबाट संक्रमित भएको पाइएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना विदेशी नागरिक हुन् । उनी ६६ वर्षका छन् । उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका थिए । उनीहरु नेपाल आउँदा नेगेटिभ पीसीआर रिपोर्टसहित आएका थिए ।
दुवै जनालाई अस्पतालमा आइसोलेसनमा राखिएको छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७८ मंसिर २० सोमवार १३:५०



















