रहेनन् प्रख्यात प्रगतिशील गायक जेबी टुहुरे
वि.सं.२०७८ भदौ १० बिहीवार १३:२७
2K
shares
काठमाडौं: प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको निधन भएको छ ।
७६ वर्षीय टुहुरे काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए ।
वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १५० भन्दा बढी गीत गाएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो । जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए ।
टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि आम मानिसहरुको जनजिब्रोमा झुण्डिएको छ ।
टुहुरेको पार्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिँदैछ ।
त्यसपछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार तयारी गरिएको छ ।
वि.सं.२०७८ भदौ १० बिहीवार १३:२७




















