त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आजबाट सबै उडान सेवा बन्द
वि.सं.२०७८ वैशाख २४ शुक्रवार ०८:३९
1.9K
shares
काठमाडौं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आजबाट सबै उडान सेवा बन्द गरिएको छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो ।
मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचीकृत गरेको छ ।
यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टड र उद्धार अन्तरराष्ट्रिय उडानबाट आउने जाने यात्रुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गरेको छ ।
यो पनि पढ्नुहोस् :
नर्भिक इन्टरनेसनल हस्पिटल ‘कोभिड अस्पताल’मा रुपान्तरण
वि.सं.२०७८ वैशाख २४ शुक्रवार ०८:३९




















