आज प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्तावको कार्यसूची
वि.सं.२०७७ चैत ३ मंगलवार ११:०६
1.3K
shares
काठमाडौं: आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची छ ।
बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
यस अतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ ।
सर्वोच्च अदालतको फागुन ११ को फैसलापछि पनुर्स्थापित भएको प्रतिनिधिसभा बैठक फागुन २३ देखि बस्दै आए पनि सरकारले बिजनेस दिएको छैन ।
सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाएका छन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल-नेपाल खेमा र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् ।
फागुन २३ मा सर्वोच्च अदालतले साविक नेकपाको एकतालाई अवैध ठहर गरेपछि सरकार गठनमा निर्णायक बनेका कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीमा आफ्नै दलको नेतृत्व दाबी गरिरहेका छन् ।
भावी प्रधानमन्त्रीको सुनिश्चितता हुनेवित्तिकै केपी शर्मा प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा विपक्षी दलहरू रहँदा नेकपा एमालेको ओली खेमा त्यसलाई असफल बनाउने सरकारी रणनीतिमा छ ।
राजनीतिक गतिरोधकै कारण दर्जनौँ विचाराधीन विधेयक संसदमा छलफलका लागि अघि बढ्न सकेको छैन ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सरकार पक्षका सांसदले बैठकमा कुनै कार्यसूची राख्न नहुने बताएका थिए ।
एमाले मुख्य सचेतक विशाल भट्टराई, सांसदहरु शान्ता चौधरी र खगराज अधिकारीले दलहरुबीच कुनै सहमति नभएकाले बैठकमा कुनै कार्यसूची नराख्न दबाब दिए ।
प्रतिपक्षी दलले संसद बैठकमा शीर्ष नेतालाई बोल्न दिनुपर्ने माग गरे पनि सत्ता पक्षका सांसद सहमत नभएको कांग्रेस सांसद भीमसेनदास प्रधानले जानकारी दिए ।
दलहरूबीच सहमति नजुटेपछि संसद सचिवालयले आजको बैठकमा शोक प्रस्ताव मात्रै पारित गर्ने कार्यसूची निकालेको छ ।
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहितको टोली नेपालमा
सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
वि.सं.२०७७ चैत ३ मंगलवार ११:०६



















