अछाममा बाढीले बगाएर बेपत्ता भएका १२ जनाको शव भेटियो
वि.सं.२०७७ भदौ ३ बुधवार १८:१०
1.7K
shares
काठमाडौं: । अछामको कैलाश खोलामा गए राति करीब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ ।
रामारोशन गाउँपालिका–५ सैनीबजारमा बाढीले ३० वटा पसलसहित १७ जना बगाएको र खोजीमा खटिएको टोलीले निकै टाढा १२ जनाको शव भेटाएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।
नेपाली सेनाको एआइ १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए ।
उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको र ५ जनाको खोजि कार्य भईरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
गए राति ठूलो वर्षात्का कारण खोलामा बाढी आएका कारण आआफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको र भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताए ।
वि.सं.२०७७ भदौ ३ बुधवार १८:१०




















